धनगढी – इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको शवलाई आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
जोशीको शव यात्रा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट बिहान ८ बजे महाकाली नदीको भुजेला घाटतर्फ सुरु हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जोशीको अन्त्येष्टि धार्मिक परम्परागत विधिअनुसार राष्ट्रिय सम्मानसहित गर्न लागिएको जानकारी दिए। उनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।
कृषि अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएको थियो। लामो समय अवस्था अज्ञात रहेका उनको मृत्यु भएको पुष्टि इजरायली अधिकारीहरूले गत असोज २७ गते गरेका थिए।






