दशैंलगत्तै अर्को महत्त्वपूर्ण चाड तिहारले नेपालीको घरआँगन छोपिसकेको छ । तिहार फूल, झिलिमिली बत्तीसँगै मिठाईको पर्व पनि हो ।
तिहारमा चिनीको माग र खपत अत्यधिक हुने गर्छ । बजारमा ठूला उद्योग तथा पसलहरूले तिहार लक्षित गरी विभिन्न थरीका मिठाई तयार पार्छन् । यसका साथै उपभोक्ताले पनि घरमै विभिन्न प्रकारका रोटी तयार पार्छन् ।

यसपालि भने सरोकारवाला निकायहरूले चिनी अभाव नहुने र सहजै सुपथ मूल्यमा प्राप्त गर्न सकिने दाबी गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष तिहार र छठ पर्वमा चिनी अभाव नहुने र मूल्यमा पनि कुनै वृद्धि नहुने दाबी गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलले हाल बजारमा चिनीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था सुदृढ बनाइएको बताए ।













