काठमाडौँ । अखिल नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, भरपर्दो र प्रविधिमैत्री बनाउन सात बुँदे सुझावपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमक्ष पेस गरेको छ।
सुझावपत्रमा श्रमिकको सामाजिक सुरक्षा, दुर्घटना राहत कोषको स्थापना, विद्युतीय सवारीसाधनलाई प्राथमिकता, स्वदेशमै सवारी निर्माणको प्रोत्साहन, डिजिटल टिकटिङ प्रणालीको लागू, वैज्ञानिक यातायात नीति निर्माण तथा महिला र श्रमिकमैत्री कार्यक्रम सञ्चालनजस्ता विषयहरू समावेश छन्।

सुझाव पत्र बुझाउँदै संघका अध्यक्ष दीपक के.सी.ले ती प्रस्तावहरू कार्यान्वयनमा आए देश दुर्घटनामुक्त, प्रदूषणमुक्त र श्रमिकमैत्री यातायात प्रणालीतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उहाँले यातायात क्षेत्रमा प्रविधिको प्रयोग र श्रमिकको अधिकार सुनिश्चित गरिनु नै दिगो विकासको आधार हुने बताउनुभयो।
संघले यातायात सेवा जनमुखी, सुरक्षित र पर्यावरणमैत्री बनाउन सरकार, यातायात व्यवसायी र श्रमिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।













