यसवर्ष मुस्ताङबाट करिब ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ। यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दशैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो।
केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो।

यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए। यसमा मुस्ताङको हिस्सा अनुमानित २० करोड रहेको छ।
जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ।













