सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको अमानवीय व्यवहारले स्थानीय समुदाय स्तब्ध भएको छ। मोबाइल चोरीको आरोपमा छिमेकीले बालिकालाई तातो झिर, सिस्नो र कुटपिट गरेर यातना दिएको घटना बाहिर आएको हो।
जिल्ला प्रहरी कार्यालयमा भान्सेका रूपमा कार्यरत रमेश श्रेष्ठ, उनकी श्रीमती मंगली श्रेष्ठ र दुई छोराहरू सुसन र सुशीलले बालिकालाई निरन्तर कुटपिट गरेको पीडित र छिमेकीहरूको भनाइ छ। पीडा सहन नसकेपछि बालिकाले चोरीको आरोप स्वीकार गरेकी थिइन्।

पीडित बालिकालाई उनका छिमेकी भाउजुले स्वास्थ्य चौकी पुर्याए पनि तत्काल कानुनी प्रक्रिया अघि बढेको थिएन। वडा कार्यालयले पनि यस विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
यो घटना ‘बालमैत्री वडा’ घोषणा गर्ने तयारी भइरहेका बेला भएकोले यसले स्थानीयमा थप आक्रोश पैदा गरेको छ। पीडितका बुबा पासाङ तामाङ घटनालगत्तै काठमाडौँ गएको भन्दै स्थानीयले उनको मौनताबारे पनि प्रश्न उठाएका छन्।
पत्रकारले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धानका लागि श्रेष्ठ परिवारलाई पक्राउ गरेको छ। स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।













