सिन्धुपाल्चोक । माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट दिनुपर्ने सेयर नपाएपछि स्थानीय आन्दोलित बनेका छन् । यही विषयलाई लिएर भोटेकोशी गाउँपालिकामा आइतबार तोडफोड भएको छ।
४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीले करिब दुई दशकदेखि विद्युत उत्पादन गर्दै आएको छ। तर, स्थानीयलाई प्रतिश्रुति गरिएको सेयर नदिँदा विवाद चर्कँदै गएको हो। यसअघि पनि जेनजी आन्दोलनका क्रममा स्थानीयले सेयरको माग राख्दै कम्पनीको पावरहाउस १० दिनसम्म बन्द गराएका थिए।

पावरहाउस पुनः सञ्चालन गर्ने क्रममा कम्पनीका प्रतिनिधि र गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिहरूबीच छलफल भइरहेको बेला बाहिरबाट स्थानीयले विरोध जनाएका थिए। आन्दोलनरत स्थानीयसँग छलफल नगरी बैठक भएको थाहा पाएपछि उनीहरू आक्रोशित बनेर पालिका भवनमा ढुंगामुढा गरेका थिए।
आक्रोशित भीडले ‘पालिका अध्यक्ष राजीनामा दे, गुण्डा पाल्ने पालिका चाहिँदैन’ भन्ने नारासहित प्रदर्शनसमेत गरेको थियो। ढुंगामुढाका क्रममा भवनमा क्षति पुग्नुका साथै प्रहरी र स्थानीय गरी एक दर्जनभन्दा बढी घाइते भएका छन्।
स्थानीयले हाइड्रोपावर कम्पनीले १० प्रतिशत सेयर दिनुपर्ने माग गर्दै अध्यक्षले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।













