काठमाडौं । राजधानी काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन्। मंगलबार बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा भेला भएका युवाहरूले प्रदर्शन सुरु गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका थिए। काठमाडौं जिल्ला प्रशासन कार्यालयले ८:३० बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु जारी रहे पनि युवाहरू बिहानैदेखि सडकमा उत्रिएका छन्। लगातारको प्रदर्शनका कारण नयाँ बानेश्वरसहितका क्षेत्र उच्च सुरक्षा निगरानीमा राखिएका छन्। प्रशासनले अनावश्यक भिडभाड नगर्न, सडकमा ननिस्कन र सुरक्षाकर्मीलाई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।








