काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ ।
बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै यही भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको हो ।

८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा उनीहरूले गरेका छन् ।
‘८ गतेसम्म कुर्छौं । त्यो दिनसम्म माग पूरा भएन भने ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलनमा होमिन्छौं’ प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकरीले भने ।
भदौ ६ गते देशैभरका स्कूल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायत आन्दोलन घोषणा गरेको हो ।
विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग राखेका छन् ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिमा पारित हुने चरणमा छ । तर, सरोकारवालाहरूले केही विषयमा असन्तुष्टि जनाएपछि समितिबाट यो विधेयक पारित हुनसकेको छैन ।













