सिन्धुपाल्चोक, जुगल गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले चन्दा उठाएर सहिद प्रतिष्ठान भवनका लागि जग्गा खरिद गरेका छन्। जुगल गाउँ कमिटीको पहलमा पटक–पटकमा ६ लाख रुपैयाँ संकलन गरी जग्गा किनिएको हो।
गाउँपालिका अध्यक्ष रेशम स्याङबोका अनुसार भवन निर्माणका लागि संघीय सरकारबाट २० लाख र वाग्मति प्रदेश सरकारबाट ४५ लाख गरी ६५ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो। तीन वर्षमा दुई तला आधाको सहिद प्रतिष्ठान भवन निर्माण सम्पन्न भई गाउँपालिका कार्यालय नजिक उद्घाटन गरिएको छ।

भवनमा पार्टी कार्यालय समेत रहनेछ भने आगामी हिउँदमा जनयुद्धमा शहादत प्राप्त पाँच सहिदका शालिक पनि चन्दा उठाएर निर्माण गरिने अध्यक्ष स्याङबोले जानकारी दिए।













