तोपानी भन्सार नाकाबाट पहिलोपटक सडक मार्ग हुँदै हेलिकप्टर नेपाल भित्रिएको छ।
फ्रान्सेली कम्पनीले चीनमै निर्माण गरेको सो हेलिकप्टर माउन्टेन हेलिकप्टर कम्पनीले नेपालका लागि खरिद गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार कन्टेनरमा पङ्खा अलग गरेर ल्याइएको हेलिकप्टरको भन्सार प्रक्रिया तथा पङ्खा जडानको काम एकसाथ भइरहेको छ।

“भन्सार क्लियर भएपछि हेलिकप्टर यहीँबाट उडेर जाने छ,” प्रमुख चुडालले भने, “नागरिक उड्डयन प्राधिकरणको अनुमति र लागत सम्बन्धी कागजातहरूको अध्ययन भइरहेको छ।”
आयातकर्ता कम्पनीले झण्डै साढे चार करोड रुपैयाँ बराबरको कर तिर्नेछ, जसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत भन्सार शुल्क समावेश छन्।













