मेलम्ची नगरपालिका–६ तिपेनीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान दुर्घटनामा परेको छ। बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको सो बस अनियन्त्रित भई सडकबाट तल खस्दा चालक गम्भीर घाइते भएका छन् भने आठ जना यात्रु घाइते भएका छन्। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बसमा करिब १० जना सवार थिए।
दुर्घटनामा चालक महेश्वर ढकालको अवस्था गम्भीर रहेको र उनलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको मेलम्ची नगर अस्पतालले जनाएको छ। अन्य घाइते यात्रुहरूलाई प्राथमिक उपचार दिइएको छ।

दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको अनुमान गरिएको छ। मेलम्ची–तिपेनी सडकखण्ड विगतदेखि नै जोखिमयुक्त मानिँदै आएको छ तर सुधारमा पर्याप्त ध्यान नदिइएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।













