काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयमा उच्च अदालत पाटनले रोक लगाएको छ ।
अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको छ । बुधबार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले उच्च अदालतमा दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको हो ।

‘प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन । अतः प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकको नाममा महानगरपालिकाले गत २० जेठमा निलम्बन गरेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखेर निवेदकलाई उनको पदमा रहेर कामकाज गर्न दिनू/दिलाउन अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ । आफूलाई निलम्बन गरिएपछि पाण्डे अदालत पुगेका थिए ।














