सिन्धुपाल्चोक, बलेफी – वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको उद्देश्यसहित “एक विद्यार्थी, एक बिरुवा” अभियान अन्तर्गत बलेफी गाउँपालिका वडा नं. ४स्थित जालपादेवी माध्यमिक विद्यालयको परिसरमा ११५ बोट फलफूलका विरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय चौताराको सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पौडेल, संविधानसभा सदस्य केशव नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, डिभिजन वन कार्यालयका प्रमुख मदन कडेल, अधिकृत रमेश दुलाल, वडा नं. ५ का अध्यक्ष यादव ठकुरी लगायत विशिष्ट व्यक्तिहरूको विशेष आतिथ्य रहेको थियो।

विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको सक्रिय सहभागितामा सम्पन्न वृक्षारोपण कार्यक्रममा नास्पती, कागती, अम्बा लगायतका फलफूलका बिरुवा रोपिएको हो।
कार्यक्रममा बोल्दै माननीय सरल सहयात्री पौडेलले वातावरणीय संकट बढ्दो रहेको वर्तमान परिस्थितिमा यस्तो अभियानले दीर्घकालीन असर पार्ने उल्लेख गर्दै, प्रत्येक बालबालिकामा प्रकृतिप्रतिको माया र जिम्मेवारीको भावना विकास गर्न आवश्यक रहेको बताए।
त्यस्तै गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले विद्यालयलाई हराभरा बनाउनुका साथै सामुदायिक स्वामित्व विकासमा यस्ता अभियान प्रभावकारी हुने बताए। डिभिजन प्रमुख कडेलले वृक्षारोपणलाई नियमित अभ्यासको रूपमा लिन आग्रह गरे।
उक्त कार्यक्रमले विद्यार्थीलाई वातावरणप्रेमी बनाउँदै शैक्षिक क्षेत्र र वातावरण संरक्षणबीचको सहकार्यको सफल उदाहरण प्रस्तुत गर्ने विद्यालयका प्रधानाध्यापक कृष्ण पराजुलीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिले वृक्षहरूको संरक्षणका लागि आवश्यक योजना बनाउने प्रतिबद्धता जनाएको छ।














