सिन्धुपाल्चोक – बलेफी गाउँपालिका वडा नं. ५ को आयोजनामा “बालमैत्री व्यवहार, आजको आवश्यकता” भन्ने विषयमा केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम सेतीदेवी आधारभूत विद्यालय, ज्यामिरेमा सम्पन्न भएको वडा अध्यक्ष यादव ठकुरीले जानकारी दिनुभयो ।
वडा नं. ५ भित्रका १८ वर्षमुनिका बालबालिकाको सक्रिय सहभागितामा सम्पन्न सो कार्यक्रममा कुल ३५ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए।

वक्तृत्वकला प्रतियोगितामा बर्षा भुजेलले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरिन्। ओस्नवी तामाङ दोस्रो र देविशा पौडेल तेस्रो स्थानमा रहे। त्यस्तै, आस्था रोक्का र विनु तिमल्सिनाले सान्त्वना स्थान प्राप्त गरे।
समाजसेवी सुनिल श्रेष्ठले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई क्रमशः नगद रु १५००, १००० र ५०० प्रदान गर्नुका साथै कार्यक्रमका सबैभन्दा कम उमेरकी सहभागी कमला नेपालीलाई पनि विशेष प्रोत्साहनस्वरूप नगद रु ५०० पुरस्कार वितरण गरेका थिए।
कार्यक्रम वडा अध्यक्ष यादव ठकुरीको अध्यक्षता र बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्यहरू, स्थानीय विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक अभिभावक प्रतिनिधि तथा समाजसेवीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
वडा अध्यक्ष ठकुरीले बालमैत्री समाज निर्माणका लागि यस्ता कार्यक्रम आवश्यक भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सामाजिक चेतना विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


















