काठमाडौं- देशभरका सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ २०) देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा गरिएको यस आन्दोलन अन्तर्गत सोमबारदेखि सार्वजनिक सवारीसाधनहरू ग्यारेजमै थन्क्याइने निर्णय गरिएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली सार्वजनिक यातायातको अस्तित्व र श्रमिकको जीविकामा गम्भीर असर पार्ने भएकाले तत्काल खारेज गर्न माग गरिएको हो।

राईका अनुसार, सम्बन्धित निकायहरूलाई पटकपटक ध्यानाकर्षण गराइए पनि समस्या समाधानको पहल नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो। आन्दोलनका क्रममा कुनै पनि सार्वजनिक यातायात सवारीसाधन सञ्चालनमा नआउने भन्दै व्यवसायीहरूले सबै सवारी ग्यारेजमा थन्क्याउने निर्णय गरेका छन्।
आइतबार सार्वजनिक रूपमा जारी गरिएको विज्ञप्तिमा ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले भनेको छ, “यस आन्दोलनबाट पर्न जाने सम्पूर्ण असर र जिम्मेवारी नेपाल सरकार आफैंले वहन गर्नुपर्नेछ।” विज्ञप्तिमा आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारी तथा सरोकारवाला निकायलाई सार्वजनिक यातायात जोगाउन सहयोग गर्न अपिल गरिएको छ।
यातायात बन्दले दैनिक यात्रामा भर पर्ने लाखौं यात्रुहरू प्रभावित हुने सम्भावना रहेको छ। सरकार र व्यवसायीबीच सहमति नजुटेमा लामो समयसम्म सार्वजनिक यातायात सेवा अवरुद्ध हुनसक्ने देखिन्छ, जसले देशको आर्थिक र सामाजिक गतिविधिमा समेत प्रतिकूल असर पार्न सक्छ।













