काठमाडौँ — १८औँ गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइँदैछ। वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले २४० वर्षे निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको स्मरणमा यो दिवस मनाइन्छ।
गणतन्त्र स्थापनालाई तत्कालीन सात दलको जनआन्दोलन र माओवादी सशस्त्र संघर्षको उपलब्धिका रूपमा लिइन्छ। जनताको सर्वोच्चता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायको प्रतीकको रूपमा यो दिनलाई जनताले वंशगत शासनमाथि विजयको उत्सवका रूपमा मनाउँछन्।

दिवसको अवसरमा देशभर र्याली, सांस्कृतिक कार्यक्रम तथा सरकारी समारोहहरू आयोजना भएका छन्। सरकारले आज सार्वजनिक बिदा दिएको छ।













