काठमाडौँ-नेपाली लोकसंगीतमा निरन्तर सक्रिय रहँदै आएका चर्चित कलाकारहरू बद्रीप्रसाद सिटौला, साजन पराजुली र देवी घर्तीले नयाँ लोक तथा दोहोरी गीत ‘नौतुनाको रेल’ सार्वजनिक गरेका छन्। यस गीतमार्फत उनीहरूको सांगीतिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुङ्गा थपिएको छ।
गायक बद्रीप्रसाद सिटौला र गायिका देवी घर्तीको सशक्त स्वरमा सजिएको उक्त गीतमा सिटौलाकै लय र सरला तिमल्सिनाको मन छुने शब्द समावेश गरिएको छ। गीतले नेपाली गाउँले जीवनशैली, भावना र परिवेशलाई कलात्मक ढंगले चित्रण गरेको छ।

भिडियो पक्षमा पनि ‘नौतुनाको रेल’ निकै बलियो देखिन्छ। गीतको म्यूजिक भिडियोमा बद्रीप्रसाद सिटौला, मुस्कान घिमिरे, गंगा पराजुली, यमप्रसाद पराजुली, मुना पराजुली र अर्जुन थापाले दमदार अभिनय प्रस्तुत गरेका छन्। बालकलाकार कुशल पराजुली, श्राम्नी पराजुली र रोशन पराजुलीको सजीव अभिनयले गीतलाई अझ आकर्षक बनाएको छ।
गीतको एरेन्ज सुफिक्स मदनले गरेका हुन् भने मिक्सिङ गोविन्द सोनीले गरेका छन्। भिडियो सम्पादन तथा छायांकन साजन पराजुलीको रहेको छ भने निर्देशन स्वयम् बद्रीप्रसाद सिटौलाले गरेका छन्। पोस्ट-प्रोडक्सन पूर्णिमा फिल्म्सले गरेको छ र अडियो तथा भिडियो निर्माण बद्री लोकमालाको ब्यानरमा सम्पन्न गरिएको हो।
लोकपारखी दर्शक-श्रोताहरूलाई मनोरञ्जन र भावना दुबै प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको ‘नौतुनाको रेल’ गीत नेपाली लोकसंगीतप्रेमीहरूको मनमा छिट्टै बस्ने विश्वास गरिएको छ।




