सिन्धुपालचोक – बलेफी गाउँपालिका वडा नं. ८ को आयोजनामा २०७१ साल श्रावण १७ गते राति गएको विनाशकारी जुरे पहिरोमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै प्रख्यात कथा वाचक पं. श्री कपिलदेव भट्टज्यूको मुखारविन्दुबाट श्रीमद्भागवत महापुराणको अमृतमय ज्ञान कथा वाचन तथा पं. श्री डेगनाथ ढकालज्यूको सहवाचनमा बैशाख २८ गतेदेखि सञ्चालन भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सार्वजनिक संगीतमय कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको छ ।
वैशाख २८ गतेदेखि सुरु भएको महायज्ञमा प्रख्यात कथा वाचक पं. श्री कपिलदेव भट्टज्यू को मुखारविन्दुबाट श्रीमद्भागवत महापुराणको अमृतमय ज्ञान प्रवाह गरिएको थियो। सहवाचकको रूपमा पं. श्री डेगनाथ ढकालज्यू को उपस्थिति रहेको कार्यक्रममा साप्ताहिक रूपमा विविध धार्मिक, सांस्कृतिक र आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये राष्ट्रियस्तरका कलाकारहरूबाट प्रस्तुत संगीतमय भजन-कीर्तन, देवलीला झाँकी, धार्मिक नाटक लगायत अन्तिम दिन १ बजेबाट आयोजित सवा करोड दीप प्रज्वलन कार्यक्रमले महायज्ञलाई अझ भव्य बनाएको वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो।
महायज्ञ सम्पन्न गर्न अहं भूमिका निर्वाह गर्ने प्रमुख वाचक पं. श्री कपिलदेव भट्टज्यू, सहवाचक पं. श्री डेगनाथ ढकालज्यू, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, तथा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतप्रति वडा अध्यक्ष श्रेष्ठले विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।
धार्मिक, सांस्कृतिक एवं सामुदायिक एकताको प्रतीक बनेको यो कार्यक्रमले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्नुका साथै भागवत संस्कृतिको जगेर्ना र सामाजिक सद्भावको सन्देश पनि दिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।














