सिन्धुपाल्चोक – बलेफी गाउँपालिका वडा नं. ४ ले आज आइतबार एक औपचारिक कार्यक्रमबीच वडाका तीन विद्यालयमा शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ। वितरण सामग्रीमा ३५ थान पानी फिल्टर, फोहर सङ्कलनका लागि डस्टबिन, र बाल क्लबहरूका लागि ९ सेट खेलकुद सामग्री समावेश छन्।
सामग्री वितरणबाट लाभान्वित हुने विद्यालयहरूमा श्री करङगैरा आधारभूत विद्यालय, सेतिदेवी माध्यमिक विद्यालय र जालपा देवी माध्यमिक विद्यालय रहेका छन्। वडाध्यक्ष सुर्जे तामाङले विद्यार्थीहरूको सुरक्षित खानेपानीमा पहुँच, सरसफाइको प्रवर्द्धन, तथा व्यक्तित्व विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको जानकारी दिनुभयो।

प्रत्येक कक्षा कोठामा राख्ने गरी वितरण गरिएका पानी फिल्टरहरूले विद्यार्थी र शिक्षकलाई स्वच्छ पानी उपलब्ध गराउने लक्ष्य लिएको छ भने डस्टबिनहरू विद्यालय परिसर सफा राख्न सहयोगी हुनेछन्। साथै, बाल क्लबहरूलाई उपलब्ध गराइएका खेलकुद सामग्रीहरूले विद्यार्थीको खेलप्रतिको रुचि बढाउनुका साथै मानसिक र शारीरिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
वडाध्यक्ष तामाङले कार्यक्रमका क्रममा बालबालिकाको समग्र विकासका लागि शिक्षा र खेलकुद दुवैलाई बराबरी महत्व दिनुपर्नेमा जोड दिनुभयो। “खेलकुदले अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ,” उहाँले भन्नुभयो, “त्यसैले विद्यालयस्तरबाटै खेल गतिविधिमा प्रेरित गरिनुपर्छ।“
स्थानीय तहको यस्तो पहलले शिक्षा, स्वास्थ्य र सशक्तिकरणका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।



















