सिन्धुपालचोक – बलेफी गाउँपालिका वडा नं. ८ को आयोजनामा २०७१ साल श्रावण १७ गते राति गएको विनाशकारी जुरे पहिरोमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सार्वजनिक संगीतमय कार्यक्रमको वडा नं. ८ को वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष तामाङले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गर्नुभएको थियो।

प्रख्यात कथा वाचक पं. श्री कपिलदेव भट्टज्यूको मुखारविन्दुबाट श्रीमद्भागवत महापुराणको अमृतमय ज्ञान कथा वाचन तथा पं. श्री डेगनाथ ढकालज्यूको सहवाचनमा (आज) बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सञ्चालन हुने पुराण आयोजक समितिले जनाएको छ ।
सप्ताह ज्ञान महायज्ञमाराष्ट्रियस्तरका कलाकारहरूबाट संगीतमय भजन-कीर्तन, देवलीला झाँकी, धार्मिक नाटक, तथा जेठ ४ गते दिउँसो १ बजे देखि सुरु हुने सवा करोड दीप प्रज्वलन कार्यक्रम रहनेवडा नं. ८ को वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार, दिवंगत आत्माहरूको शान्तिको लागि सामूहिक प्रार्थना, धार्मिक भावना जगाउने झाँकी तथा सत्संगको माध्यमबाट समाजमा सदाचार र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। साथै, उक्त अवसरमा राधा-कृष्ण मन्दिरको निर्माण कार्यको औपचारिक घोषणा समेत गरिएको छ ।













