काभ्रेपलाञ्चोक – मण्डनदेउपुर नगरपालिका–७ मा शनिबार बिहान भएको टिप्पर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। ईन्द्रावती नदीबाट बालुवा लोड गरेर आउँदै गरेको बा ४ ख ३३६३ नम्बरको टिप्पर ब्याक भई सडकबाट करिब ५० मिटर तल खस्दा नुवाकोटको सूर्यगढी गाउँपालिका–७ निवासी ४८ वर्षीय लवकुश अधिकारीको ज्यान गएको हो।
स्थानीयका अनुसार टिप्पर अचानक अनियन्त्रित भई तल खसेको थियो। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

दुर्घटनास्थलमै अधिकारीको मृत्यु पुष्टि गर्दै प्रहरीले प्रारम्भिक अनुसन्धानमा टिप्परमा ओभर लोड र ओभर स्पिडको आशंका गरिएको जनाएको छ। पछिल्लो समय मण्डनदेउपुर क्षेत्रमा यस्ता दुर्घटनाहरू दोहोरिएसँगै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
स्थानीयबासीका अनुसार सडक संरचना कमजोर हुनु, चालकहरूमा सावधानीको अभाव, र बालुवा ढुवानीमा अत्यधिक लोडिंग हुनुजस्ता कारणले दुर्घटनाको जोखिम उच्च रहेको छ। यस क्षेत्रलाई दुर्घटनाग्रस्त क्षेत्रका रूपमा लिनुपर्ने माग समेत उनीहरूले गरेका छन्।













