काठमाडौं-लामो समयदेखि स्वास्थ्य समस्याले पीडित वरिष्ठ लोकदोहोरी गायक रेशम थापाको उपचारका लागि अन्ततः पहल भएको छ।
तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडी प्रेमबहादुर भण्डारीको आग्रहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले रेशम थापाको उपचार गराइदिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो।

“सबैजना बच्नुपर्छ, बचाउनुपर्छ” भन्ने भावनाले प्रेरित भएर भण्डारीसहित थुप्रै व्यक्तिहरूले गायक थापाको सहयोगार्थ आवाज उठाएका थिए। भण्डारीले सहयोग गर्ने सबै व्यक्तिहरूलाई धन्यवाद दिँदै यस अभियानमा सहभागी हुने सबैलाई आग्रह समेत गरेका छन्।
थापाको उपचार व्यवस्थापनमा सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका अध्यक्ष दिपेन्द्र थापाको पनि उल्लेखनीय भूमिका रहेको छ। उनी गायक थापालाई उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा लैजाने जिम्मेवारी सम्हालिरहेका छन्।
लोकदोहोरीको जग हालेका र जनमानसमा लोकप्रियता हासिल गरेका रेशम थापाको स्वास्थ्यमा सुधार ल्याउने प्रयासले नेपाली सांगीतिक क्षेत्रकै गौरवको रक्षामा एक सकारात्मक सन्देश दिने विश्वास लिइएको छ।
यस सहयोगात्मक कदमले सांगीतिक क्षेत्र र समाजबीचको सम्बन्ध अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।













