सिन्धुपालचोक – बलेफी गाउँपालिका वडा नं. ८ को आयोजनामा (साविक माखा–१, राम्चे–४,५, टेकानपुर–१,२,३,धुस्कुन–१,२) २०७१ साल श्रावण १७ गते राति गएको विनाशकारी जुरे पहिरोमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सार्वजनिक संगीतमय कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यहि बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म प्रख्यात कथा वाचक पं. श्री कपिलदेव भट्टज्यूको मुखारविन्दुबाट श्रीमद्भागवत महापुराणको अमृतमय ज्ञान कथा वाचन तथा पं. श्री डेगनाथ ढकालज्यूको सहवाचनमा सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

कार्यक्रमको विशेष आकर्षणमा राष्ट्रियस्तरका कलाकारहरूबाट संगीतमय भजन-कीर्तन, देवलीला झाँकी, धार्मिक नाटक, तथा जेठ ४ गते दिउँसो १ बजे देखि सुरु हुने सवा करोड दीप प्रज्वलन कार्यक्रम रहनेवडा नं. ८ को वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार, दिवंगत आत्माहरूको शान्तिको लागि सामूहिक प्रार्थना, धार्मिक भावना जगाउने झाँकी तथा सत्संगको माध्यमबाट समाजमा सदाचार र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। साथै, उक्त अवसरमा राधा-कृष्ण मन्दिरको निर्माण कार्यको औपचारिक घोषणा समेत गरिनेछ।
यस भावनात्मक र धार्मिक महत्वको कार्यक्रममा सहभागी भई दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित उपस्थिति जनाउन आयोजकहरूले सम्पूर्ण पितृ सम्बन्धी परिवार, भक्तजन तथा श्रद्धालुहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्।













