काठमाडौँ –शिक्षक आन्दोलनले केही समयको अन्योलता सिर्जना गरे पनि अब कक्षा १२ को परीक्षा तोकिएको नयाँ मिति अनुसार २१ वैशाखदेखि सुरु हुने पक्का भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तयारीलाई तीव्रता दिएको छ भने सबै विद्यालयलाई आन्तरिक तयारी पूरा गर्न आग्रहसमेत गरेको छ।
बोर्डका अनुसार परीक्षा २१ वैशाखदेखि १ जेठसम्म सञ्चालन हुनेछ। यसअघि ११ वैशाखदेखि सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित गरिएको थियो। सरकार र शिक्षकबीच बुधबार सहमति भएपछि बोर्डले स्थगित परीक्षा मिति पुनः तोकी आवश्यक तयारी अघि बढाएको हो।

राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी तथा सुरक्षा निकायहरूलाई पत्राचार गरी बाँकी पूर्वतयारी पूरा गर्न अनुरोध गरिसकेको जनाएको छ। साथै बोर्डले परीक्षाबारे अनावश्यक अफवाह फैलिएको भन्दै परीक्षाको मिति यथावत् रहने स्पष्ट पारेको छ।
यसपटक देशभरबाट करिब पाँच लाख ५० हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन्। बोर्डले यस्तो ठूलो संख्यामा विद्यार्थी संलग्न हुने भएकाले कुनै ढिलासुस्ती नहुने गरी तयारी गरिरहेको जनाएको छ।













