काठमाडौँ – लामो समयदेखि जारी रहेको शिक्षक आन्दोलन अन्त्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक प्रतिनिधिबीच ऐतिहासिक सहमति भएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आन्दोलन भोली (बिहीबार) देखि रोक्नेगरी सहमति जुटेको जानकारी दिएका छन्।
शिक्षकहरूको प्रमुख मागहरू सम्बोधन गर्न सरकारले सकारात्मक संकेत दिएको र सहमतिपत्रलाई मन्त्रिपरिषद्को बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको छ। सोही निर्णयपछि सहमति कार्यान्वयनमा आउने मन्त्रालयले स्पष्ट पारेको छ। वर्तमानमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ, र निर्णय केहीबेरमै आउने अपेक्षा गरिएको छ।

प्रवक्ता सापकोटाका अनुसार, ‘आज भएको सहमति कार्यान्वयनमा आएपछि भोलीदेखि नै विद्यालयमा पठनपाठनको वातावरण निर्माण हुने छ।’ साथै, विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सत्तारूढ दलका सचेतकहरूले एकीकृत समर्थन जनाएपछि कानुनी व्यवस्था सुनिश्चित हुने संकेत पनि देखिएको छ।













