काठमाडौं –डोल्पाको कान्जिरोबा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्प आज आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा महसुस गरिएको हो। भूकम्पको धक्का डोल्पा र आसपासका जिल्लामा अनुभूति गरिएको भए पनि हालसम्म कुनै ठूलो क्षतिको जानकारी आएको छैन।

यसअघि, गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन वैशाख १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। पुनः पटक पटक भूकम्पीय धक्का महसुस हुन थालेपछि विज्ञहरूले भूकम्पीय सतर्कता र पूर्वतयारीमा ध्यान दिन आह्वान गरेका छन्।
नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमध्ये पर्दछ, र यस्ता साना धक्का भूगर्भीय सक्रियता कायम रहेको संकेतको रूपमा लिइन्छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन तथा आपतकालीन तयारीमा रहन आग्रह गरेको छ।













