काठमाडौं — सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासबाट जारी आदेशमा शिक्षकका जायज मागहरू सम्बोधन गर्न र पठनपाठन अवरुद्ध हुन नदिन निर्देशन दिइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कईकेलले जानकारी दिए।
अदालतले एसईईको नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

अधिवक्ता श्रवण कुमार चौधरीद्वारा दायर रिटको सुनुवाइपछि अदालतले शिक्षा मन्त्रालय, मन्त्रिपरिषद्, संघीय संसद, शिक्षा विभाग र परीक्षा बोर्डलाई विपक्षी बनाउँदै आदेश जारी गरेको हो।
न्यायालयको ठहर छ— शिक्षकको आन्दोलनले देशभरिका विद्यार्थीको शिक्षामा गम्भीर असर परेको छ, त्यसैले शिक्षण कार्यलाई तत्काल सुचारु गर्नु अपरिहार्य छ।













