काठमाडौं – वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय लिएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अब नयाँ मिति निर्धारणका लागि बोर्ड बैठक बस्नेछ। ‘परीक्षा अहिलेलाई स्थगित गरिएको छ,’ उनले भने, ‘छिट्टै नयाँ मिति तय हुनेछ।’

यसअघि आज बिहान मात्र बोर्डले परीक्षा निर्धारित मितिमा सञ्चालन गर्ने अडान लिएको थियो। शिक्षक आन्दोलनका कारण कक्षाकोठा ठप्प भइरहेका बेला निजामती कर्मचारीमार्फत परीक्षा सञ्चालन गर्ने सरकारको तयारी पनि थियो।
तर २१ दिनदेखि जारी शिक्षक आन्दोलन र त्यसबाट सिर्जित चापका कारण शिक्षा मन्त्री विद्या भट्टराईले हिजो राजीनामा दिएकी छन्। आन्दोलनका बीच उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्ततः परीक्षा सार्ने निर्णय गरिएको हो।













