काठमाडौं – देशभरका ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालनमा आएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउनुका साथै कुपोषणको परीक्षणसमेत गरिनेछ। कार्यक्रम सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

नेपालमा भिटामिन ‘ए’ को कमीका कारण हरेक दिन कम्तीमा एक बालबालिकाले आँखाको ज्योति गुमाउने जोखिम रहेको सरकारी तथ्यांकले देखाएको छ। सोही जोखिम न्यूनीकरण गर्न २०५० सालमा आठ जिल्लाबाट शुरु गरिएको भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि देशैभर लागू गरिएको हो।
यसैगरी, जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि र बालभिटा वितरण २०६४ सालदेखि नियमितरूपमा हुँदै आएको छ। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै बालबालिकाको पोषण तथा स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।













