परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा अवस्थित तातोपानी धारामा निर्मित आधुनिक स्नानगृहको उद्घाटन गरेकी छन्। ६ करोड लागतमा निर्माण भएका दुई भवनमा ४७ वटा बाथटब रहेका छन्।
नेपाल–चीन सीमामा पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर निर्माण गरिएको यो संरचना स्थानीय तहको लगानीमा बनेको हो। सिजनमा दैनिक एक हजारसम्म पर्यटक आउने तातोपानीमा अहिले संरचना व्यवस्थित भएपछि सुविधा थपिएको छ।

तातोपानी धारालाई स्थानीय सरकारमार्फत सञ्चालन गर्दा आम्दानी पनि बढेको जनाइएको छ। छाला तथा हड्डीसम्बन्धी रोगमा लाभदायक मानिने तातोपानीमा चीन र भारतका पर्यटक समेत आकर्षित हुने गरेका छन्।
उद्घाटनपछि मन्त्री राणाले सीमा क्षेत्रको निरीक्षण गर्दै चिनियाँ अधिकारीहरूसँग भेटघाट गरेकी थिइन्।













