काठमाडौं — पश्चिमी र स्थानीय वायुको सक्रियताले देशभर मौसम बदलिँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा दिनभर बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। राति पनि ती क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले तीव्र मौसमी उतारचढाव, चट्याङ्ग र असिनाको सम्भावनाले जनजीवन, कृषि, स्वास्थ्य तथा यातायातमा असर गर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। हिमाली भेगमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन र हवाई यात्रा अघि मौसम जानकारी लिन सुझाव दिइएको छ।













