काठमाडौं — नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौंमा दुई सातादेखि आन्दोलनरत सिन्धुपाल्चोकका शिक्षकहरूलाई बागमती प्रदेश सरकारका माननीय सरल सहयात्री पौडेलको नेतृत्वमा ऐक्यबद्धता जनाइएको छ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, वडा नं. ७ का अध्यक्ष गृविन्द्र चौलागाईं, सरस्वती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नीरकुमार तामाङलगायतको सहभागितामा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीलाई ५० केश खानेपानी वितरण गरिएको हो।

कार्यक्रमका वक्ताहरूले शिक्षालाई प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिँदै शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
अध्यक्ष गंगा बहादुर तामाङले कक्षा ११ र १२ को वार्षिक परीक्षा प्रभावित हुने खतरा औँल्याउँदै शिक्षा ऐन तत्काल लागू गरी विद्यमान समस्याको समाधान खोज्नुपर्ने बताए।
साथै, सामुदायिक विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि दीर्घकालीन योजना र ठोस नीति आवश्यक रहेको भन्दै सहभागीहरूले सरकारलाई तत्काल कदम चाल्न आह्वान गरेका थिए।
कार्यक्रमले शिक्षक आन्दोलनप्रति व्यापक ऐक्यबद्धता देखाउनुका साथै शिक्षा सुधारको आवश्यकताबारे सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराएको छ।














