काठमाडौं — सरकारद्वारा शैक्षिक सत्र २०८२ को भर्ना अभियान सुरु गर्न परिपत्र जारी भए पनि आन्दोलनरत शिक्षकहरूले सो अभियान बहिष्कार गर्ने घोषणा गरेका छन्। नेपाल शिक्षक महासंघले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ।
शिक्षकहरूले सोमबार नयाँ वर्षको दिन समेत काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका हुन्। विद्यार्थी भर्ना, एसईईको उत्तरपुस्तिका परीक्षण, र कक्षा १२ को परीक्षा समेत प्रभावित हुने चेतावनी महासंघले दिएको छ।

महासंघले संसद्को विशेष अधिवेशन वा अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै आएको छ। दुई पटकसम्मको संवाद निष्फल भएपछि आन्दोलन थप चर्काउने निर्णय गरिएको महासंघले जनाएको छ।
शिक्षकहरूका मुख्य मागमा सेवा–सुविधा, स्थायित्व, मर्यादाक्रम र स्थानीय तह मातहत नपर्ने व्यवस्था रहेका छन्। सरकारले भने ती माग पूरा गर्न ठूलो आर्थिक भार पर्ने भन्दै सतर्कता अपनाउँदै आएको छ।













