काठमाडौँ — राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नेपाल प्रहरीले प्रसाईंको खोजी गरिरहेको बेला उनले आफैँ आसाम प्रहरीसमक्ष उपस्थित भएर आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जनाएको छ। उनीलाई पूर्वी नाका काँकडभिट्टामार्फत नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बुझिएको छ।

गत चैत १५ गतेको राजसंस्थावादी प्रदर्शनपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। त्यसयता उनले समय–समयमा सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत आफ्नो ज्यानमाथि खतरा रहेको दाबी गर्दै आएका थिए।
बुधबार मात्रै उनले नयाँ भिडियो सार्वजनिक गर्दै मानवअधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरूको रोहबरमा २४ घण्टाभित्र उपस्थित हुन तयार रहेको बताएका थिए। तर त्यसको केही समयमै उनले भारतको आसाममा आत्मसमर्पण गरेको पुष्टि भएको हो।













