काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी, चट्याङ र वर्षा जारी रहेको महाशाखाले जानकारी दिएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरूमा केही स्थानमा भारी वर्षा समेत मापन गरिएको छ।

त्यस्तै, कोशी प्रदेश अन्तर्गत झापा, सुनसरी र सोलुखुम्बु जिल्लामा पनि वर्षा भइरहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भाग, विशेषतः लमजुङ, मा पनि मेघगर्जनसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिनभर र शुक्रबारसम्म वर्षा जारी रहने सम्भावना रहेको छ।आज देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेश प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।महाशाखाले नागरिकलाई सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह गरेको छ।













