काठमाडौं, पेरिसडाँडा – अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिको तेस्रो बैठक संगठनका अध्यक्ष दीपक के.सी.को अध्यक्षतामा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो।
बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज रामदीप आचार्य रहनुभएको थियो। विशेष अतिथिका रूपमा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा, वरिष्ठ उपाध्यक्ष धनबहादुर बिक, उपाध्यक्ष सोम तमाङ, महासचिव शालिक काफ्ले, उप-महासचिवहरू माधव पाण्डे, शिव पोख्रेल, रामचन्द्र कार्की तथा गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमको उपस्थिति रहेको थियो।

बैठकले “मजदुर पक्षीय यातायात ऐन निर्माण, सामाजिक सुरक्षा कार्यान्वयन र मर्यादित श्रमको लागि राष्ट्रिय जागरण अभियान” भन्ने नाराका साथ ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गर्यो। सातै प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै मजदुरका तत्कालीन समस्या, वर्तमान चुनौती तथा संगठनको जिम्मेवारीसहितको कार्ययोजना पेश गरियो। शहीदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको बैठकमा सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरिएको थियो।
संगठनको केन्द्रीय सचिवमा नरबहादुर राणा, रमेश गुरुङ, सह-कोषाध्यक्षमा सविता मगर तथा कार्यालय सदस्यमा विमला कार्की, कोमल पोख्रेल र सनक उप्रेतीलाई पदोन्नति गरिएको छ।
बैठकले सातै प्रदेश र ७७ जिल्लामा बैठक, भेला, प्रशिक्षण तथा संगठन पुनर्गठनसहित संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, सामाजिक सुरक्षा कार्यान्वयन, मजदुर पक्षीय ऐन निर्माण तथा सम्मानित र मर्यादित यातायात मजदुर निर्माणका लागि संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकका अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथिले पेशागत, सांगठनिक, राजनीतिक तथा व्यावहारिक पक्षमा संगठनका काम, कर्तव्य, अधिकार र जिम्मेवारीबारे महत्वपूर्ण प्रशिक्षण प्रदान गर्दै बैठकलाई ऐतिहासिक बनाएका थिए।














