काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ। उद्घाटन खेलमा पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्स र साविक विजेता ललितपुर सिटी एफसी भिड्नेछन्।
पछिल्लो संस्करणमा ललितपुरले धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो। यस पटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित ललितपुरले इङ्ग्ल्यान्डका अनुभवी प्रशिक्षक सिमन ग्रेसनलाई टिमको नेतृत्व सुम्पिएको छ। लिड्स युनाइटेडको प्रशिक्षक भइसकेका ग्रेसन हालै भारतीय सुपर लिगको बेङ्लुरु एफसीसँग आवद्ध थिए।

प्रशिक्षक ग्रेसनले ललितपुरलाई पुनः च्याम्पियन बनाउन प्रतिबद्ध रहेको बताउँदै यसका लागि आफू लामो दूरी पार गरेर नेपाल आएको उल्लेख गरे। ललितपुरका कप्तान अनन्त तामाङले नयाँ प्रशिक्षकको आगमनले टिमका खेलाडीहरूलाई धेरै सिक्ने अवसर मिल्ने विश्वास व्यक्त गरे।
यता, काठमाडौँका कप्तान कुलदीपले विदेशी प्रशिक्षक र खेलाडीहरूसँग खेल्न पाउनु नेपाली खेलाडीहरूका लागि ठूलो अवसर भएको बताए। काठमाडौँका प्रशिक्षक प्याट्रिक डि विल्डेले ललितपुरविरुद्ध नयाँ रणनीति तयार पारिएको उल्लेख गर्दै टिमले सोहीअनुसार उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुरबीच अहिलेसम्म चार पटक भिडन्त भएको छ, जसमा तीन खेल काठमाडौँले जितेको छ। पहिलो संस्करणमा काठमाडौँले ललितपुरलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै फाइनल पुगेको थियो र त्यसपछि उपाधि जित्न सफल भएको थियो। तर, पछिल्लो संस्करणमा ललितपुरले इलिमिनेटर खेलमा काठमाडौँलाई पराजित गर्दै बदला लिएको थियो।
उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ भने प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुनेछ।













