हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा खुकुरी प्रहारबाट ३५ वर्षीया गुडिया दासको हत्या भएको छ। उनलाई आफ्नै कान्छा देवर २३ वर्षीय राहुल (रमेश) दासले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
बुधबार राति घरको दोस्रो तलामा मृत अवस्थामा फेला परेकी गुडियाको टाउकोमा गहिरो चोट लागेको थियो। घटनामा संलग्न राहुललाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ।

राहुलले आफ्ना माइलो दाजु २८ वर्षीय रूपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। रूपेशको टाउको, हात र करङमा चोट लागेको छ, र उनको उपचार मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ।
मृतक गुडियाका श्रीमान् रोजगारीका लागि कतारमा रहेका छन्। घरायसी विवादका कारण घटना भएको अनुमान गरिएको छ। राहुलले हत्या तथा आक्रमण गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।













