काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।

चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्।
यसअघि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । र घिसिङले जवाफ पनि लेखेका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै गत साउनबाटै उनलाई पदबाट हटाउने चर्चा चलेको थियो । योबीचमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए ।













