बलेफी गाउँपालिकाकाे नीति तथा कार्यक्रममा यस गाउँपालिका भित्रका PHD (विद्यावारिधि) गर्ने विद्यार्थीलाई एक लाख सहित सम्मान गर्ने नीति रहे बमोजिम बलेफी गाउँपालिका, ५ नं. वडा ज्यामिरेका डा.अशाेक पाैडेललाई बलेफी गाउँपालिकाद्वारा रू. १ लाख सहित सम्मान गरिएको छ।
डा. पौडेलले कोठे स्थित जालपा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि सिंगापुर गएका थिए। उनले त्यहाँ अध्ययन पूरा गरी विद्यावारिधि (PhD) उपाधि हासिल गरेका छन्। शिक्षा तथा अनुसन्धानमा उनको योगदानलाई कदर गर्दै बलेफी गाउँपालिकाले उनलाई सम्मान गर्ने निर्णय गरेको हो।

गाउँपालिकाले शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै अन्तर्गत, उच्च शिक्षामा उल्लेखनीय सफलता प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्ने नीति लागू गरिएको हो।
सम्मान समारोहमा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा नं. ५ का अध्यक्ष यादव ठकुरी लगायत विभिन्न क्षेत्रका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले डा. पौडेलको सफलता सम्पूर्ण गाउँपालिकाका लागि गौरवको विषय भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए।
सम्मानित डा. पौडेलले आफूले प्राप्त गरेको शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, गाउँपालिकाले शिक्षामा देखाएको चासोले आगामी दिनमा थप विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
गाउँपालिकाको यो कदमले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।









