बलेफी गाउँपालिका वडा नं. ४ अन्तर्गत थारथान खोला करङगैरा, डाँडागाउँ कोले, लिफ्टिङ खानेपानी आयोजना विद्युत महसुल नबुझाएका कारण काटिएको लाइन केही दिनमै पुनः जडान हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले चार लाख रुपैयाँ बक्यौता रहेको भन्दै केही दिन अघि विद्युत आपूर्ति बन्द गरेको थियो। यसले गर्दा करङगैरा, डाँडाकटेरी, डाँडागाउँ, कोले लगायतका ६ गाउँका १६० घरधुरी खानेपानी अभावमा परेका थिए।

यस समस्याको समाधानका लागि पुर्व वडा अध्यक्ष तथा माओवादी केन्द्र बलेफी गाउँ पालिका अध्यक्ष कालीप्रसाद लामाले नेपाल विद्युत प्राधिकरणसँग विशेष छलफल गरेका छन्। छलफलपछि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु गर्न पहल गरिएको र छिट्टै नै लाइन पुनः जडान गरिने अध्यक्ष लामाले जानकारी दिए।
उनका अनुसार बलेफी गाउँपालिका र वडा नं. ४ को समन्वयमा प्राधिकरणलाई आवश्यक रकम भुक्तानी गरी लाइन सुचारु गरिनेछ। साथै, खानेपानी उपभोक्ताहरूले समयमा महसुल बुझाउनुपर्नेमा पनि जोड दिइएको छ।
उपभोक्ताले समयमै महशुल नबुझाएको पाइएकाले अध्यक्ष लामाले स्थानीय उपभोक्ताहरूलाई महसुल समयमै बुझाउन अनुरोध गर्दै भविष्यमा यस्ता समस्या नआउने गरी सबैले सचेत हुनुपर्ने बताए। साथै, समस्या समाधानका लागि आवश्यक सबै प्रयास भइरहेको र जनताको सेवामा आफू निरन्तर क्रियाशील रहेको उनले उल्लेख गरे। पुनः जडानपछि सयौं घरधुरीलाई स्वच्छ र नियमित खानेपानी आपूर्ति हुने लामाले जानकारी दिए।













