सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरत पराजुलीको पहलमा सरकारले हरित प्रविधिअन्तर्गत ग्रिन हाइड्रोजन उत्पादन तथा अन्वेषण केन्द्र स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु केन्द्रलाई पाइलट प्रोजेक्टका रूपमा विकास गर्ने योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको यो योजना सिन्धुपाल्चोकको भविष्य रूपान्तरण गर्ने दूरदर्शी कदमका रूपमा हेरिएको छ।
प्राकृतिक जोखिमका दृष्टिले संवेदनशील सिन्धुपाल्चोकलाई ‘क वर्ग’मा राखी आवश्यक स्रोत–साधन व्यवस्थापन गर्ने निर्णयले जिल्लाको सुरक्षा र दिगो विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। यसले विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउँदै पूर्वाधार तथा सेवा प्रणालीमा सुधार ल्याउने विश्वास लिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०८३ वैशाख ३ गते बसेको बैठकले सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरी योजना कार्यान्वयन गर्न निर्देशन दिएको छ। यसबाट परियोजनालाई व्यवहारिक रूपमा अघि बढाउन थप बल पुगेको छ।
ग्रिन हाइड्रोजन परियोजनाले स्वच्छ ऊर्जा प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले सिन्धुपाल्चोकलाई हरित विकासको नमूना जिल्लाका रूपमा स्थापित गर्ने सम्भावना समेत देखिएको छ।













