सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा प्रहरीले अनुदानमा उपलब्ध गराइने रासायनिक मल अवैध रूपमा भण्डारण गरी महँगोमा बिक्री गर्ने कार्यमा संलग्न गिरोहमाथि कारबाही थालेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दुई स्थानमा छापा मार्दा ३ सयभन्दा बढी बोरा मल बरामद भएको हो।
प्रहरीका अनुसार बलेफी–७ खाडीचौरस्थित ‘साजन किराना पसल’को गोदामबाट ७४ बोरा युरिया र १९० बोरा डिएपी मल फेला परेको छ। राजन श्रेष्ठले सञ्चालन गरेको उक्त पसलमा ‘खेतीशक्ति’ ब्रान्डको अनुदानको मल लुकाइ राखिएको भेटिएपछि गोदाम सिल गरिएको छ।

त्यसैगरी, बलेफी–५ कोठेमा मंगलमाया श्रेष्ठको घरमा अजय तामाङले ३६ बोरा युरिया मल अवैध रूपमा भण्डारण गरेको अवस्थामा प्रहरीले फेला पारेको छ। दिउँसो र साँझ गरी फरक–फरक समयमा गरिएको छापामा मल बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानले सहकारीमार्फत मात्र वितरण गर्नुपर्ने मल निजी पसलमार्फत कालोबजारी भइरहेको संकेत गरेको प्रहरीले जनाएको छ। बरामद मलको स्रोत, संलग्न व्यक्ति र सम्भावित सञ्जालबारे थप अनुसन्धान जारी छ।








