सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ। विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
२०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो।









