नबराज नेपाल, बलेफी । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. ३ तेम्बाथानस्थित श्री तेम्बाथान आधारभूत विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा ब्रह्मायणी जलविद्युत आयोजनाको तर्फबाट विद्यार्थीहरूलाई न्यानो ट्याकसुट वितरण गरिएको छ।
आयोजना व्यवस्थापन निर्देशक श्री इन्दीबर गुरुङमार्फत विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक न्यानो ट्याकसुट कपडाहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पासाङ नोर्बु शेर्पा तथा विद्यालयका प्रधानाध्यापकलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रमले विशेष गरी चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य र नियमित उपस्थितिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सहयोग प्राप्त भएपछि विद्यार्थीहरू अत्यन्त हर्षित देखिएका थिए भने विद्यालय परिवारले पनि आयोजनाप्रति आभार व्यक्त गरेको छ।
स्थानीय समुदायमा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस प्रकारको सामाजिक उत्तरदायित्व कार्यक्रमले विद्यालय तथा विद्यार्थीहरूको मनोबल उच्च बनाएको छ।









