११ चैत, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले स्थानीय किसानलाई राहत दिने महत्वपूर्ण निर्णय गर्दै आलु भण्डारण शुल्कमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ। गाउँ कार्यपालिकाको २०८२ चैत १० गतेको निर्णयअनुसार किसानहरूले उत्पादन गरेको आलु चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिन्डेमा रहेको शीत भण्डारमा राख्दा लाग्ने कुल खर्चको आधा रकम गाउँपालिकाले व्यहोर्नेछ भने बाँकी कृषक स्वयंले तिर्नुपर्नेछ।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङका अनुसार किसानसँगको छलफलपछि यो निर्णय गरिएको हो। सिजनमा उचित मूल्य नपाएर सस्तोमा आलु बेच्नुपर्ने बाध्यतामा रहेका किसानका लागि यो योजना निकै राहतदायी हुने अपेक्षा गरिएको छ। शीत भण्डारणको सुविधा पाएपछि किसानले उत्पादन सुरक्षित राखेर उपयुक्त समयमा बजारमा बिक्री गर्न सक्नेछन्।

यस कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूह, सहकारी वा फार्महरूले आफ्नो उत्पादनको परिमाण खुलाएर सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
गाउँपालिकाको यो पहलले कृषि उत्पादनको संरक्षण, बजार व्यवस्थापन र किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।













