काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिकी डलर बाहिर लैजान खोजेको आरोपमा तीन जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी–६ की ३८ वर्षीया संगीता लामा र लिशंखुपाखर–७ का ४७ वर्षीय विनोद लामा रहेका छन्।
प्रहरीका अनुसार उनीहरू चीनको ग्वाङझाउ जानका लागि चाइना साउथर्न एयरलाइन्सको उडानमार्फत प्रस्थान गर्ने क्रममा अन्तर्राष्ट्रिय प्रस्थान कक्षको ह्याण्ड ब्यागेज जाँचका बेला शंका लागेपछि शरीर खानतलासी तथा स्क्रिनिङ गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा अमेरिकी डलर फेला परेको हो।

अनिता र संगीता लामाको साथबाट जनही १० हजार डलर तथा विनोद लामाको साथबाट ८ हजार ९०० डलर बरामद भएको प्रहरीले जनाएको छ। यसरी कुल २८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्। प्रहरीले यस घटनालाई अवैध मुद्रा कारोबारसँग जोडेर अनुसन्धान अघि बढाएको जनाएको छ।








