सिन्धुपाल्चोक, फागुन १८ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ डाँडागाउँमा आज भएको भीषण आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय आशिष तामाङको घरमा अचानक सल्किएको आगोले घरभित्र रहेका सम्पूर्ण धनमाल खरानी बनाएको हो।
स्थानीय जगत गोलेका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र अन्य महत्त्वपूर्ण सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीका कारण तामाङको परिवार बिचल्लीमा परेको छ।

घटनालगत्तै स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू राहत जुटानमा सक्रिय भएका छन्। घरबारविहीन भएका पीडित आशिष तामाङलाई सहयोग गर्न स्थानीय जगत गोले र वडाअध्यक्ष सुर्जे तामाङको विशेष पहलमा तत्काल आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले दुःखको यस घडीमा पीडित परिवारलाई पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय समाजसेवी जगत गोलेले देश–विदेशमा रहेका सहयोगी दाताहरूलाई मानवीय नाताले पीडित तामाङ परिवारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।
“अचानक भएको यस आगलागीले एउटा परिवारको ओत लाग्ने ठाउँ नै खोसेको छ। हामीले स्थानीय स्तरबाट केही सहयोग सुरु गरेका छौँ, थप सहयोगका लागि सबैमा अपिल गर्दछौँ,” स्थानीय जगत गोलेले बताउनुभयो।
त्यस्तै नेपाली काँग्रेसको तर्फबाट युवा नेताहरु बलदेव तामाङ, हिरा लामा, बम बहादुर तामाङ, राजेन्द्र तामाङ, फुलमान तामाङ लगायत घटना स्थलमा पुगेर नगद १०,०००/- दश हजार र (भाँडाकुँडा, ब्लान्केट-रेडक्रस), त्रीपाल, खाद्यान्न तत्कालका लागि राहत सहयोग गर्नुभएको छ।
सहयोग गर्न चाहने इच्छुक व्यक्ति वा संघसंस्थाहरूले स्थानीय अभियन्ता जगत गोलेमार्फत समन्वय गरी आफ्नो सहयोग पुर्याउन सक्ने जनाइएको छ। 
















