सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा जारी दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ र ७ फाइनलमा पुगेका छन्।
मंगलबारबाट सुरु भएको प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई र वडा नम्बर ७ ले वडा नम्बर ८ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई २६–२४ र २५–२० ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
फाइनल खेल भोलि बिहान साढे ७ बजे सुरु हुने वडा नम्बर ५ का अध्यक्ष एवम पालिकाका प्रबक्ता शशीनाथ आचार्यले जानकारी दिनुभयो।













