प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार आज ५ लाख मतपत्र मात्र छाप्न बाँकी छ । ती पाँच लाख मतपत्र बागमती प्रदेशका हुन् । ती आजै छापिसक्ने उनले बताए ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न हुने बताए । ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं आज ४० दिनमै सकिँदैछ,’ उनले भने, ‘आज छपाइ सम्पन्न पछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ सके बाँकी जिल्लामा ढुवानी हुनेछ ।’

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमुना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।













